दफा ५२३
करार पूरा गर्नु पर्ने समय र तरिका

(१) करार पूरा गर्ने समय र तरिका करारमा उल्लेख भएकोमा सोही समयभित्र र तरिका बमोजिम करार पूरा गर्नु पर्नेछ ।
(२) करार बमोजिमको काम गर्न करारमा कुनै समय वा तरिका तोकिएको रहेनछ तर त्यस्तो काम कुनै खास समयमा वा कुनै खास तरिकाले मात्र गर्न सकिने रहेछ भने सोही समयमा सोही तरिका बमोजिम गर्ने गरी करार भएको मानिनेछ ।
(३) उपदफा (२) मा लेखिएको अवस्थामा बाहेक करारमा करार पूरा गर्ने समय र तरिका उल्लेख नभएमा मनासिब समयभित्र र मनासिब तरिका अपनाई करार पूरा गर्नु पर्नेछ ।